ओलीकाे आक्राेश: सर्वोच्चको फैसलाले संविधान संशोधन गर्यो
काठमाडौं - निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलाले संविधान संशोधन गरेको आरोप लगाएका छन् ।
नयाँ सरकार बन्न लागेका स्थितिमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका हुन् । अदालतको फैसलाले लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका राज्यका तीन अंगका बीचको सन्तुलन नराम्रोसँग बिथोलेको उनको भनाइ छ ।
उनले भनेका छन्-‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ ।’
उनले थपे - ‘यसले क्षणिक रुपमा कसैलाई हर्षित तुल्याउला । तर लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभंगुर र अर्थहीन हुन जानेछ ।’’
फेसबुक पेज Like गर्नुहोस