काठमाडौं - राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । आठौँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । 

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित छ ।

यही असार १७ गतदेखि सुरु भएको आठौँ अधिवेशनको बैठक हिजो पनि बसेको थियो ।