काठमाडौं - नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।

आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशक भन्दा लामो समयदेखि मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि गरेको बताइएकाे छ ।

आइएसओबाट प्रमाणित भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘हामीले स्थापनाकाल देखी नै सूचना प्रणाली , गोपनियता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएका छौँ । हामीले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउदै आएका छाैँ । यसै सिलसिलामा सुचना प्रणाली सम्बन्धी ग्लोबल बेन्चमार्क आइएसओ २७००१ तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु हामी, हाम्रा ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा बित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पुर्ण सरोकारवालाको लागी खुशीको कुरा हो । यो आइएसओबाट सर्टिफाइड भएसँगै हाम्रो सेवा सुरक्षित र गुणस्तरिय छ भन्ने कुराको थप पुष्टि भएको छ ।’

आइएसओ २७००१ः२०१३ (हालको संस्करण) संसारमा सबैभन्दा विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ । कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाच्ने मूख्य आधार नै आइएसओलाई चिनिन्छ । यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुको बारेमा विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनियता व्यवस्थापनमा सूचना सुरक्षा जोखिमबाट माथि उठाउँछ । आइएसओको यो प्रमाणपत्र प्राप्त गरेसँगै इसेवाले सूचना सुरक्षा प्रणाली व्यवस्थापनमा निर्माण गरेको संरचना विश्वस्तरिय रहेको थप पुष्टि भएको छ ।