काठमाडौं - बाँकेको अगैयामा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । भारतबाट आएको कारणले संक्रमण जोखिम हुनसक्ने भन्दै परीक्षण गर्दा उनीहरुमा कोरोनाको संक्रमण नदेखिएको हो ।

बाँकेको अगैयामा भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै तथा १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरूको स्वाव सोमबार बिहान भेरी अस्पतालमा परीक्षणको लागि पठाइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा सबै ३३ जनाकै रिपोर्ट नगेटिभ आएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेहरूमध्ये ११ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी दिएको छ । मृत्यु हुनेहरूमा साबिक बराह गाविस वडा नम्बर ३ दैलेखका गाडी चालक दानबहादुर खड्का, सुर्खेत लाटी कोइलीका गाडी सहचालक पवन भण्डारी, राजपुर ६ दाङका रामबहादुर पुन, ठेगाना नखुलेका बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, पुर्णबहादुर पुन, सीता पुन र रितेश खड्का रहेका छन् । एकजनाको अझै सनाखत हुन बाँकी रहेको छ ।