गलेश्वर – म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् ।

बेनी नगरपालिका–८ कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर संकलन गरेको १० हजार रुपैयाँबाट विभिन्न किसिमका राहत सामग्री खरीद गरी सात जना बाढीपीडितलाई प्रदान गरेका हुन् । 

१४ वर्षीय इदान पुनको नेतृत्वमा खेलिएको देउसीभैलोबाट संकलन भएको रकमबाट दाल, चिनी, चियापत्ती, बिस्कुट, साबुन लगायतका सामान खरीद गरेर बाढीपीडितलाई प्रदान गरेका बाढीपीडित राहत संकलन एवं व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजालले जानकारी दिए ।

गत असोज ४ गते राति कोटखोलामा आएको बाढीले स्थानीयवासी दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, माया परियार, रश्मी परियार, अनिता परियार, सेते किसान र बुद्ध एकेडेमीलाई क्षति पुर्‍याएको थियो । बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुनर्निर्माणको  काम भने सम्पन्न भइसकेको छ ।

बाढीबाट क्षति पुगेको व्यक्तिहरूको पुनःस्थापनाका लागि पहल भइरहेको र उनीहरुलाई घर निर्माणका लागि जग्गाको खोजी भइरहेको बताइएको छ । पूर्णरूपमा विस्थापित २ परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन् । 

उनीहरूको सहयोग र व्यवस्थापनका लागि आर्थिक संकलन गर्ने उद्देश्यले गठन गरिएको बगरफाँट बाढीपीडित आर्थिक संकलन तथा व्यवस्थापनको खातामा हालसम्म ३ लाख ५२ हजार ३०० रुपैयाँ संकलन भएको संयोजक रिजालले बताए ।