काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ लागेका हुन्।

उनी बिहान करिब १२ बजेतिर त्रिभुवन विमानस्थलबाट अरजबैजान प्रस्थान गरेका

असंलग्न आन्दोलन (नाम) राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने दुईदिने १८औं शिखर सम्मेलन शुक्रबार बाकुमा शुरू हुँदैछ ।

ओलीले शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका छ । नाम आन्दोलन कुनै गुट र समूहमा आबद्ध नभएका देशहरुको समूह हो ।

१ सय २० देश आवद्ध यो समूहमा १७ मुलुक पर्यवेक्षक सदस्यको भूमिका रहेका छन् । भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओलीको भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र र राजनीतिक सल्लाहकारहरुलगायत सहभागी हुनेछन् ।