अन्ततः मनाङे र आचार्यले पाएनन् रोजेको मन्त्रालय,शुरुमै अस्वीकार गरेको मन्त्रालयमा चित्त बुझाउन बाध्य
काठमाडौं - गण्डकी प्रदेशका दुई विना विभागीय मन्त्रीले विभागीय मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।
मन्त्री नियुक्ती भएको झण्डै एक महिनापछि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मँन्त्रालय र राजीव गुरुङ (दीपक मनाङे)ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनीहरुले पदभार ग्रहण पनि गरिसकेका छन् ।
दुई विना विभागीय मन्त्रीहरुले शुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हालेका हुन्। यसअघि स्वतन्त्र सांसद मनाङ्गेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै आएका थिए भने जसपाका आचार्यले आर्थिक मामिला मन्त्रालय मागेका थिए ।
तर, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको छलफलपछि उनीहरू पहिलेनै दिएको मन्त्रालय लिन सहमत भएका हुन् ।
यसअघि आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आफ्ना पार्टी दुवै सांसदलाई मन्त्री बनाउनु पर्ने माग गर्दै आएका थिए । विश्वासको मत लिने दिन गत ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरेपनि सहमति तोडेपछि किचलो सुरु भएको थियो ।
अब गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ मन्त्रालयको जिम्मा पाइसकेका छन् ।
गण्डकीमा कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा तथा स्वतन्त्र सांसदको संयुक्त सरकार छ ।
फेसबुक पेज Like गर्नुहोस