काठमाडौं - इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न चेतावनी दिएको प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ । अल–कुड्स अस्पतालमा बम विस्फोट गराउने भन्दै इजरायली सेनाले धम्की दिएको रेड क्रिसेन्टले जनाएको हो ।

तर, अस्तापलको आईसीयूमा बिरामीहरु रहेको तथा इन्क्युबेटरमा समेत नवजात शिशुहरू रहेकाले उनीहरूलाई सार्न असम्भव हुने सो संगठनले जनाएको छ ।

स्वास्थ्य सेवा प्रदान गर्ने यो संस्थाले हाल अल कुड्स अस्पतालमा चार सय बिरामी भर्ना रहेको र हजारौं विस्थापितले यहाँ शरण लिएको बताएको छ।

गाजाको तल अल–हवा क्षेत्रमा रहेको सो अस्पताल प्रशासनले ५० मिटर पर बिहानैदेखि बम खसिरहेको जनाएको छ । अस्पताल र अस्पताल परिसरमा करिब १४ हजार मानिसले आश्रय लिएका बताइएको बीबीसीले जनाएको छ ।

यसअघि, अक्टोबर १७ मा इजरायलले अल–अहली अरब अस्पतालमा विस्फोट गराएको र त्यहाँ ५०० जनाको मृत्यु भएको प्यालेस्टाइनी पक्षले जनाएको छ । गाजामा मानवीय सहायतालाई अनुमति दिइएयता आइतबार ३० ट्रक मानिस अस्पताल प्रवेश गरेका बताइएको छ ।

अक्टोबर ७ देखि सुरु भएको इजरायल–हमास युद्धमा गाजामा आठ हजार पाँच सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ । इजरायलमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको र २३० जनालाई हमासले बन्धक बनाएको बताइएको छ ।

अर्को मानवीय त्रासदी रोक्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आह्वान गरिरहेको रेड क्रिसेन्टले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले उक्त खबरप्रति चिन्ता प्रकट गरेका छन्।

उनले भनेका छन्–‘अल कुड्स अस्पताल खाली गर्ने आदेशसम्बन्धी समाचार चिन्ताजनक छ। विश्व स्वास्थ्य संगठनले बारम्बार भरिभराउ अस्पतालहरूबाट बिरामीलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव छ। अस्पताल सुरक्षित हुनुपर्छ र यसको जीवन बचाउने कार्य निर्वाध सञ्चालन हुनुपर्छ।’

यसैबीच हमासका स्वास्थ्य अधिकारीहरूले इजरायलको लगातारको बमबारीका कारण हालसम्म चार हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन्। गाजामा हालसम्म १० लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। यहाँ खाद्यान्न र खानेपानीको चरम संकट छ।