भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन अदालतको आदेश
काठमाडौं - जिल्ला अदालत काठमाडौंले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश तीर्थराज केसीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । यसअघि शुक्रबार झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका थिए ।
जसअनुसार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए ।
जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो । शरणार्थी प्रकरणमा पक्राउ परेसँगै बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।
झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएको आरोप थियो । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए ।
फेसबुक पेज Like गर्नुहोस