काठमाडौं - नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी निर्वाचनमा पर्यटन व्यवसायी रमेश पराजुलीले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशकसमेत रहेका पराजुलीले भरत जंग पाण्डे नेतृत्वको टिमबाट सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । व्यवसायीको साझा संस्था बनाउने भन्दै पराजुलीले पाण्डे टिमबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले भरत जंग पाण्डे नेतृत्वको समूहबाट उम्मेदवारी घोषणा गरेका हुन् । उनले योग्य, अनुभवी र व्यावसायिक टिमलाई विजयी गराई नाट्टालाई नयाँ उचाइमा पुर्‍याउन सम्पूर्ण सदस्यहरूलाई आग्रह समेत गरेका छन् ।

करिब दुई दशक पर्यटन क्षेत्रमा बिताएकाले  अन्तर्राष्ट्रिय सञ्जाल र नेपालको ट्राभल उद्योगमा उल्लेखनीय कार्य गरेकाले नाटाको आगामी निर्वाचनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेको पराजुलीले बताए । पराजुली रुप्से होलिडेजका सञ्चालक छन् ।

काठमाडौंको हात्तिसारमा रहेका ट्राभल्सले नेपाली पर्यटन उद्योगमा उल्लेखनीय मात्रामा योगदान पुर्‍याएको उनले बताए ।

नेपाल(भियतनामबीच नियमित चार्टर उडान सञ्चालन गरिसकेका उनले नयाँ गन्तव्यको खोज र पर्यटन विकासको प्रवर्द्धनमा लागिरहने पराजुलीले बताउँछन् । 

उनका अनुसार रुप्सेले श्रीलंका, भियतनाम, थाइल्याण्ड र मेलसिया लगायत अन्य मुलुकका पर्यटकका लागि काम गरिरहेको छ ।

त्यसैगरी, उनले पर्यटन र खेलकुदको सम्बन्धलाई व्यावसायिक रूप दिने ‘स्पोट्र्स टुरिजम’ अवधारणा अघि ल्याएका छन् । पराजुलीले ललितपुर क्विन्स महिला भलिबल टोलीमार्फत नेपाली महिला खेलकुदलाई व्यवसायीकरण र अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्त्वपूर्ण भूमिकासमेत खेलेका छन् । 

पराजुलीले रुप्से स्पोट्र्स म्यानेजमेन्टमार्फत नेपाली क्रिकेट, महिला भलिबल र समग्र खेलकुद उद्योगमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

हालसम्म १४० भन्दा बढी देशको भ्रमण गरिसकेका पराजुली अन्तर्राष्ट्रिय पर्यटन बजार, एयरलाइन्स कम्पनीसँगको सहकार्य, गन्तव्य विकास र प्रवर्द्धनका क्षेत्रमा विशिष्ट अनुभव हासिल गरेका व्यक्ति हुन् । 

सचिव पदमा उम्मेदवारी घोषणापछि पराजुलीले नाट्टालाई प्रविधिमैत्री, पारदर्शी र सदस्य केन्द्रित बनाउने प्रतिबद्धता जनाएका छन् ।

युवा उद्यमीहरूको सहभागिता वृद्धि, क्षमता अभिवृद्धि तालिम र व्यवसाय विस्तारका अवसर सिर्जनालाई पनि प्राथमिकता दिइने पराजुलीले बताए ।

नाटामा हाल ५ सय २२ सदस्य रहेकाले आगामी दिनमा एक हजार सदस्य बनाउने योजना रहेको उनले प्रतिबद्धता व्यक्त गरे ।

पराजुलीले भने- 'पर्यटन केवल व्यवसाय मात्रै होइन, सम्पूर्ण अर्थतन्त्रको चालक शक्ति हो । नाट्टालाई सबै सदस्यको साझा व्यावसायिक मञ्चका रूपमा सशक्त, उत्तरदायी र परिणाममुखी बनाउनु आजको आवश्यकता हो ।'

नाटाले पर्यटन क्षेत्रलाई मजबुत बनाउन नीतिगत रुपमा सरकारलाई सल्लाह सुझाव दिन सक्ने उनको भनाइ छ ।

संस्थाको विकास, सदस्य हित र पर्यटन उद्योगको समग्र उन्नयनका लागि सबैको सुझाव, सल्लाह र रचनात्मक सहयोगको अपेक्षा पनि व्यक्त गरेका छन् ।

'मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा होइन, सम्पूर्ण पर्यटन व्यवसायीको साझा आवाजलाई थप बलियो बनाउनका लागि हो । बलियो नाट्टा, बलियो पर्यटन र समृद्ध नेपालको लक्ष्य हासिल गर्न म पूर्ण प्रतिबद्ध छु,' पराजुलीले भने ।