काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । 

शनिवार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता नेपालले प्रतिगमन दोहोरिएको र शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको बताएका छन् । उनले केपी ओलीको यो कदमको भर्त्सना गर्दै प्रतिगमन भाग २ को डटेर प्रतिवाद गर्न आह्वानसमेत गरेका छन् । 

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’ उनले भनेका छन्, ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’