सुनसरी - जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश शनिबार बिहानबाट हटाएको छ ।

शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु हटाए पनि संवेदनशील क्षेत्रमा भने निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार शनिबार बिहान ८ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म कर्फ्यु हटाइएको हो।

यद्यपि, स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन वा जम्मा हुन पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, साथै इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र रहेका छन्।