जनकपुरधाम - जनकपुरधाममा जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ।
सुनसरी घटनापछि जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको थियो। सुरक्षा अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले गत बिहीबार दिउँसो ३ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
अवस्था सामान्य बन्दै गएपछि शनिबार बिहान १० बजेदेखि कर्फ्यु हटाई निषेधाज्ञा लागू गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुटेलले जानकारी दिए। पिडित परिवार र सरकारबीच सहमति भएसँगै अवस्था केही सामान्य बन्दै गइरहेको छ ।
यसअघि सुनसरीका ९ वटा स्थानीय तहमा र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ। गएको आइतबार सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सशस्त्र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। घाइतेमध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा तोडफोड तथा आगजनीका घटना भएका थिए ।
देवानगञ्ज घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा पनि आन्दोलन र प्रदर्शन भएका थिए। यसक्रममा सिरहाको लहानमा प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो । त्यसपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मधेसप्रदेश भर कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो ।

.gif)


