काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैवाहिक अंगिकृत नागरिकता बहुमतबाट पास गरे नोटअफ डिसेन्ट लेख्ने निर्णय गरेको छ ।

आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक पारित गर्ने गरी प्रस्ताव आए 'नोट अफ डिसेन्ट' लेख्ने निर्णय गरेको हो ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बसेको सचिवालय बैठकले नेपाली पुरूष नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई विदेशको नागरिकता त्याग गरेको प्रमाण पेश गरेको सात वर्षपछि नेपाली नागरिकता दिने निर्णय गरेको थियो ।

‘नेकपाले भनेजस्तो सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिनु संवैधानिक, सांस्कृतिक, राजनीतिक मान्यताविपरीत हुन्छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘यदि बहुमतबाट निर्णय गर्न खोजियो भने हामी 'नोट अफ डिसेन्ट' लेख्छौँ ।’

केहीबेरमा सिंहदरबारमा बस्ने राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नागरिकता विधेयकबारे छलफल हुँदैछ ।