काठमाडौं - गृहमन्त्री सुधन गुरुङले पार्टी निकट रहेर काम गर्ने केही पत्रकारलाई आफ्नो शैली सुधार्न चेतावनी दिएका छन्।

नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित जेनजी सहिद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा जोखिम मोलेर काम गर्ने तथा घाइते भएका पत्रकारप्रति सम्मान व्यक्त गर्दै केही पत्रकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।

'म पत्रकार मित्रहरूलाई पनि सन्देश दिन चाहन्छु, तपाईंहरूले धेरै काम गर्नुभएको छ, धेरै सहयोग गर्नुभएको छ, धेरै लड्नुभएको छ। मैले त्यो देखेको छु, तपाईंहरूलाई मेरो सम्मान छ,' उनले भने।

त्यसपछि सीमित पत्रकारलाई लक्षित गर्दै उनले भने- 'तर, यो ३–४ जना छन् नि, उनीहरूलाई चाहिँ तपाईंहरूको पार्टीसहित सुध्रिनुस् भन्न चाहन्छु।'

गृहमन्त्री गुरुङले राजनीतिक दलनिकट भएर काम गर्ने पत्रकारले समेत आफ्नो शैली परिवर्तन गर्नुपर्ने धारणा राखे। जनताले गलत संस्कार अन्त्य र व्यवस्था सुधारका लागि दुई तिहाइ मत दिएको दाबी गर्दै उनले सञ्चार क्षेत्रमा रहेका दलका पक्षधरहरूले पनि पुरानो कार्यशैली त्याग्नुपर्ने बताए।

यद्यपि, गृहमन्त्री गुरुङले चेतावनी दिएका तीन–चार पत्रकारको नाम भने सार्वजनिक गरेनन्।

यसअघि पनि गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई अपमान नगर्न पुराना राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका थिए।

साथै, नयाँ पुस्ताको यो सरकार परम्परागत संस्कार बदल्न र जनताको सेवा गर्न आएको उल्लेख गर्दै उनले कुनै पनि हालतमा परिवर्तनको आशा मर्न नदिने बताए।  

सुरक्षा निकायलाई पनि कुनै राजनीतिक दबाब नदिई निष्पक्ष रूपमा काम गर्न स्वतन्त्र छाडिएको जानकारी गराउँदै उनले सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्दै देश निर्माणको यात्रामा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।