काठमाडौं,एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड-१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । उनले भने, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तिब्र विभेद छ । 

पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, 'मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ । तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करिब १५ प्रतिशत छन् तर विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत त्यहीँ छ । न्यून र न्यून-मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७ प्रतिशत मात्र उपलब्ध छ । खोप वितरणमा ज्यादै ठूलो अन्तर प्रष्टै देखिएको छ ।' उनले विश्वका १२४ वटा देशमा करिब ६३ लाख डोज खोप पठाइएको छ, तर यो खोप ती देशको कूल जनसंख्याको ०.५ प्रतिशत मात्र रहेको बताए । 

खोप वितरणमा देखिएको यस किसिमको असमता हटाउन लगानी बढाउनुपर्ने, कोभाक्समा खोप उपलब्ध हुनुपर्ने तथा खोपको उत्पादन बढाउन प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

महासचिव घेब्रेससले भने, 'कतिपय उच्च आय भएका मुलुकहरुले आफ्ना बालबालिका र किशोर किशोरीलाई खोप दिन थालिसकेका छन्, जबकी विश्वका धेरै देशमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा रहेका व्यक्तिले खोप लगाउनै पाएका छैनन् ।'