ओलीले मन्त्रिमण्डललाई पूर्णता दिए गृहमन्त्रीमा खगराज, आजै नयाँ मन्त्रीको शपथ
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनर्गठन गरेर पूर्णता दिन लागेका हुन् ।
यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।
प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । त्यसैगरी कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी उनी सञ्चारमन्त्री बन्न लागेकी हुन् ।
यस्तै ज्वाला कुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन् ।
मन्त्री बन्न लागेकी ज्वाला साह प्रदेश २ बाट माओवादी छाडेर एमाले आएकी नेतृ हुन् । पहाडी एमालेको माधव नेपाल छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता हुन् । यस्तै रानाले प्रतिनिधिसभा निर्वाचनमा आरजु राणालाई हराएका थिए । उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस