काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिकमा ज्यान गुमाएका विश्व कीर्तिमानधारी पर्वतारोही निर्मल पुर्जासहित छ जना नेपाली आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शनिबार फेसबुकमार्फत शोक सन्देश जारी गर्दै बालेनले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने बताएका छन्।

बालेनले ब्रोड पिक दुर्घटनामा विश्वप्रसिद्ध पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित छ जना नेपाली र चार विदेशी आरोहीको मृत्युले आफू स्तब्ध भएको उल्लेख गरेका छन्। उनले दिवङ्गत आरोहीहरूको भौतिक यात्रा अन्त्य भए पनि उनीहरूको साहस, समर्पण र योगदान सधैँ प्रेरणाको स्रोत बनिरहने विश्वास व्यक्त गरेका छन्।

'विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा ९निम्स दाइ० सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ । निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना,' उनले फेसबुकमा लेखेका छन्।

ब्रोड पिक दुर्घटनामा मृत्यु हुने नेपालीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन्। १० सदस्यीय आरोहण टोलीमध्ये अन्य चार जना विदेशी नागरिक थिए। 

बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकको शिखरतर्फ करिब ६,६०० मिटर उचाइमा उक्लिरहेका बेला टोली हिमपहिरोमा परेको थियो ।

सोही दिनदेखी सम्पर्कविहीन रहेका आरोहीहरूको मृत्यु भएको आरोहण कम्पनी इलाइट एक्सपेडले शनिबार फेसबुकमार्फत पुष्टि गरेको हो ।