कञ्चनपुर - सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनका २३ वर्षीय उत्तम कार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार बिहान कार्कीले सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो तलाबाट हाम फालेका थिए।
गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो।
टाउको र शरीरको भित्री भागमा गम्भीर चोट लागेका कार्कीको माया मेट्रो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बीएचएमको प्रवेश परीक्षा दिएर परीक्षा केन्द्रबाट बाहिरिएका कार्कीले लगत्तै विश्वविद्यालय भवनको दोस्रो तलाबाट हाम फालेका थिए। घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

.gif)


