काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालको पुँजीबजारको दीर्घकालीन विकास र सुधारका लागि सरकारले आवश्यक नीतिगत तथा संरचनात्मक सुधार गर्न सकारात्मक रहेको बताएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शेयर बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग भएको छलफलमा उनले पुँजीबजार सुधारलाई सरकारको प्राथमिकतामा राखिएको बताएका हुन्। प्रधानमन्त्री शाहले बजारलाई स्थिर, पारदर्शी र प्रतिस्पर्धी बनाउन सरोकारवालाबाट आएका सुझावलाई क्रमशः कार्यान्वयन गरिने उल्लेख गरे।

 उनले संस्थागत लगानीकर्ता बढाउने, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को रणनीतिक साझेदारसहित पुनर्संरचना गर्ने, प्राथमिक निष्कासन (आईपीओ) प्रणाली सुधार गर्ने, दोस्रो बजारमा तरलता बढाउने तथा कर प्रणाली पुनरावलोकन गर्ने विषयमा सरकारले आवश्यक पहल गर्ने बताए।

उनले नेपालको पुँजीबजारमा संस्थागत लगानीकर्ताको सहभागिता न्यून भएकाले बजारमा अस्थिरता बढी देखिएको उल्लेख गर्दै सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थालाई संस्थागत लगानीकर्ता बन्न प्रोत्साहन गरिने जानकारी दिए।

प्रधानमन्त्री शाहले नेप्सेलाई रणनीतिक साझेदारसहित पुनर्संरचना गरी आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। 

सरकारी स्वामित्वका कारण निर्णय प्रक्रियामा ढिलाइ, आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति आकर्षित गर्न कठिनाइ हुने भएकाले संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ थियो।

साथै  प्रधानमन्त्रीले धितोपत्र बोर्डलाई प्राथमिक निष्कासन प्रणाली सुधार, योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ प्रणालीलाई प्रभावकारी बनाउने, दोस्रो बजारमा मूल्य निर्धारण प्रणाली (प्राइस डिस्कभरी) सुदृढ गर्ने तथा इन्ट्रा–डे कारोबार, सर्ट सेलिङ र सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ प्रणाली कार्यान्वयनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल सहभागी थिए ।