काठमाडौं-  प्रधानमन्त्री वालेन्द्र शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन्। उनले राष्ट्रिय उद्योगलाई पुनः सञ्चालनमा ल्याउने र प्रतिस्पर्धी बनाउने प्रयासलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

शाहले सामाजिक सञ्जालमार्फत राष्ट्रिय उद्योग तथा संस्थानको अवस्थालाई लिएर विगतदेखि रहँदै आएको निराशाबीच पछिल्ला केही महिनामा सकारात्मक परिणाम देखिन थालेको बताएका हुन्। ‘जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्,’ उनले लेखेका छन्।

उनका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवन दिन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ। कानुन कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’ का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उनको भनाइ छ। शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिको पछिल्लो प्रगति उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।


उनका अनुसार लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनले बताएका छन्। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको शाहले उल्लेख गरेका छन्। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादनको तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको उनले बताएका छन्।

त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको शाहले बताएका छन्। उनका अनुसार तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको छ। परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने तयारी छ। नेपाल वायुसेवा निगमको आम्दानीमा समेत सुधार भएको शाहको दाबी छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको उनले बताएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

उक्त अवधिमा निगमको सीट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशत बढी हो। जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यही अवधिमा भुक्तानी गरिएको शाहले उल्लेख गरेका छन्।

डीडीसीमा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको पनि उनले बताएका छन्। उनका अनुसार आठ महिनासम्म पुगेको भुक्तानी चक्रलाई दुई–तीन महिनामा झारिएको छ भने बक्यौता रकम ७२ करोडबाट ३५ करोड रुपैयाँमा घटेको छ। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ।

सुधारका प्रयासपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको शाहको दाबी छ। कानुनविपरीत कर्मचारीलाई दिइँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको उनले बताएका छन्। डीडीसीले खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको र नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्न लागिएको पनि शाहले उल्लेख गरेका छन्।

त्यस्तै, सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएयता ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको उनको भनाइ छ। गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको शाहले बताएका छन्। हाल वैद्यखानाले निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढेको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको र चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेको उनले उल्लेख गरेका छन्।

शाहले पाउडर तथा ट्याब्लेट औषधिमा जीएमपी मापदण्ड हासिल गर्ने र जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत रहेको बताएका छन्। ‘हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ,’ शाहले भनेका छन्। उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने सरकारको यात्रामा नागरिकको रचनात्मक साथ, भरथेग र विश्वास आवश्यक रहेको उनले बताएका छन्।