काठमाडौं - अफ्रिकी मुलुक मालीमा अन्तरिम सरकारका राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले हिरासतमा राखेकोमा बिहीवार मुक्त गरेको एएफपी समाचार संस्थाले खबर दिएको छ । 

नौ महिनाअघि मात्र सेनाले कू गरेर पहिलेका राष्ट्रप्रमुखलाई हटाएकोमा यसै साता पुनः कू गरिएको थियो  । राष्ट्रपति बाह न्दाव, प्रधानमन्त्री मोक्तार औएन र रक्षामन्त्री सुलेमान डूकोरलाई राजधानी बामाको बाहिर रहेको काती सैन्य अड्डामा राखिएको  थियो । 

सरकारले मन्त्रिपरिषदमा फेरबदल गर्दै गत अगस्ट महिनामा गरिएको कूमा संलग्न दुई सैनिकलाई मन्त्री नबनाएपछि सेनाले शीर्ष पदस्थहरूलाई बन्दी बनाएको हो । 

न्दाव पूर्वसैनिक हुन् र उनी तथा औएनलाई गत वर्ष सेप्टेम्बर महिनामा मालीका जनरलहरूले क्षेत्रीय नाकाबन्दी लाग्ला भन्ने डरका कारण शासन सुम्पेका थिए । 

अन्तर्राष्ट्रिय दबाब परेपछि उनीहरुलाई सेनाले हिरासतमुक्त गरेको हो ।