काठमाडौं - भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित कालापानी, लिपुलेकको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाले बिहीबार सर्वसम्मत पारित गरेको हो ।

प्रतिनिधिसभाले शनिबार सर्वसम्मत पारित गरेको विधेयक राष्ट्रियसभामा आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् ।

त्यसलगत्तै राष्ट्रियसभामा विधेयकमाथिको छलफल सुरु भएको थियो । छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष गरेकी थिइन् । त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले विधेयक निर्णयार्थ पेस गरेका थिए ।

५७ जना सांसद बैठकमा उपस्थित भएका थिए । मत विभाजन गर्दा प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्नेमा ५७ जना सांसदले हस्ताक्षर गरेका थिए भने विपक्षमा अर्थात् हुन्न भन्नेमा हस्ताक्षर गर्ने कोही पनि सांसद थिएनन् ।