काठमाडौं - नेपालमा शनिबार थप तीनजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप तीनजनामा कोरोनाको संक्रमण भएको पुष्टि गरे ।

प्रवक्ता डा. देवकोटाकाअनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, भारतको उत्तराखन्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

प्रवक्ता डा. देवकोटाले बाहिरबाट आएका संक्रमितबाट अरुमा सरेको यो पहिलो घटना भएको भन्दै नेपालमा कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको बताए ।

प्रवक्ता देवकोटाले ‘क्वारेन्टाइन’मा बसेका व्यक्तिमै संक्रमण देखिएको भन्दै १४ दिनको क्वारेन्टाइन अवधि लम्बिन सक्ने बताए ।

कोरोना संक्रमित तीनैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कैलालीका पहिलो संक्रमितको पनि सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । यस्तै, दुईजनाको बागलुङ र दुईजनाको टेकु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।