अझै केही दिन क्वारेन्टाइनमा बसिदिन सरकारको आग्रह
काठमाडौं - सरकारले नयाँ तीन संक्रमित भेटिएपछि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन आग्रह गरेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयोजित नियमित पत्रकार सम्मेलननमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा पहिलोपटक स्थानीय संक्रमण समेत भेटिएको हुँदा क्वारेन्टाइन अनिवार्य र अझ बढि सतर्क हुनुपर्ने बताएका हुन् ।
‘एउटा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा स्थानीय तहमैं संक्रमण भएको यो पहिलो पटक हो। क्वारेन्टिनमा कति अनिवार्यरुपमा र कति सावधानीपूर्वक बस्नुपर्ने रहेछ भन्ने कुरा यसले पनि थप पुष्ट्याईं गर्छ,’ प्रवक्ता देवकोटाले भने, ‘अब संक्रमण थप फैलिन नदिनका निम्ति जो विदेशबाट आउनुभएको छ, उहाँहरु अनिवार्य रुपमा क्वारेन्टिनमा बस्ने र सावधानीका सबै उपाय अपनाउनु अनिवार्य छ ।’
यस्तै, देवकोटाले स्थानीयमा पनि संक्रमण देखिएसँगै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको जानकारी दिए ।
शनिबार मात्र सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एक जनामा नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पुष्टि भएको थियो ।
भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र धनगढीका ३४ वर्षीय पुरुष संक्रमितका भाउजूमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
फेसबुक पेज Like गर्नुहोस