काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवागढी जलविद्युत आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत घिसिङले भदौ १४ गते आफूले टिमुरे, रसुवागढी टनेल र चिलिमे टनेलको स्थलगत रेकी गरेर फर्किएपछि धुन्चेमा सुरक्षा निकायका अधिकारीसँग उद्धारबारे छलफल भएको जानकारी दिएका छन् ।

उक्त छलफलअनुसार भदौ १५ गते नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत आयोजनाको पावर हाउस जाने पहुँच सुरुङभित्र करिब २५० मिटर प्रवेश गरेर उद्धारको प्रयास गरेको घिसिङले बताएका छन्।

तर, सुरुङभित्र मानिस फेला पार्न नसकिएको समाचार आएको उनको भनाइ छ। घिसिङले उद्धार प्रयासलाई अब थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘भदौ १४ गते म आफैँ टिमुरे, रसुवागढी टनेल, चिलिमे टनेल रेकी गरेर फर्केपछि धुन्चेमा सुरक्षा निकायहरूसँग छलफल भएअनुसार हिजो भदौ १५ गते नेपाली सेनाको टोलीले रसुवागढीको पावर हाउस जाने पहुँच टनेलभित्र २५० मिटरसम्म जाने काम भएको छ। तर टनेलभित्र मान्छे भेट्न सकिएन भन्ने समाचार आयो।’