काठमाडौं, एजेन्सी - चीन सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ। पछिल्लो वर्षहरुमा जन्मदर स्वात्तै घटेपछि चीनले हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो । 

साउथ चाइना मर्निङ पोष्टका अनुसार सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङले अध्यक्षता गरेको चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले त्यहाँ एक जोडीले ३ सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो। उक्त बैठक राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको थियो ।

वैशाख २८ गते सार्वजनिक भएको चिनको पछिल्लो जनगणनाको रिपोर्टअनुसार अहिले चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख छ। सो तथ्यांकमा चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको जनसंख्या बढी भएको देखिएको छ । 

चीनमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको थियो । जुन १९६० को दशकयताकै कम भएको बताइएको छ । 

साथै, त्यहाँ महिलाभन्दा पुरुषको जनसंख्या बढी भएकाले विवाहको लागि पुरुषले महिला पाउन निकै गाह्रो भएको बताइएको थियो।

सरकारले तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटार्यड हुने समय सार्ने,  युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्डकेयर सेवा सुधार्ने, सुत्केरी विदा बढाउने र चाइल्ड बर्थ इन्सुरेन्स गर्नेलगायतका कुराहरू गरिने जनाइएको छ।

सन् २०१६ यता चीनमा एक जोडीले २ वटा सन्तान जन्माउन पाउने नियम बनाइएको थियो। त्यसअघि जनसंख्याको वृद्धिदर निकै बढेपछि सन् १९८० मा चीनले  एक बच्चामात्रै जन्माउन पाउने नीति लागू गरेको थियो।