काठमाडौं - नेपालका लागि चिनियाँ राजदुत  होउ यान्छीले नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेकी छन् । 

मंगलबार विहान खनाल निवास डल्लु पुगेकी राजदुत यान्छी र नेता खनालबीच ४५ मीनेट कुराकानी भएको स्रोतले जनाएको छ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला भएको यस भेटलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । अस्ति आइतबार मात्र राजदुत यान्छीले नेकपाका अर्का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् । 

नेकपाभित्र विवाद चर्किपछि केही दिन अघि राजदुत यान्छीले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरी छलफल गरेकी थिइन ।

नेकपाभित्र प्रधानमन्त्रीबाट अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई हटाउने विषयमा शीर्ष नेतृत्वमा खिचातानी भइरहेको छ । यसले गर्दा नेकपाको जारी स्थायी समिति बैठकसमेत अवरुद्ध हुन पुग्दा तेस्रो पटक स्थगित गरिएको छ । 

शीर्ष नेताहरुका बीच समस्या समाधानका लागि पहल  भइरहेको भनिएता पनि अहिलेसम्म कुनै पनि निष्कर्षमा पुग्न भने सकेका छैनन्  यस्तो अवस्थामा चिनियाँ राजदुत यान्छीले निरन्तर रुपमा नेकपाका शीर्ष नेताहरुसँगको भेट बढाउनुलाई अर्थपूर्ण रुपमा लिनु पर्ने विश्लेषकहरु बताउँछन् ।