शिक्षकले गरे कालो मास्कसहितको मौन प्रदर्शन
काठमाडौं- विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आएका शिक्षकहरुले सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् ।
शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा कालो मास्क लगाएर जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि कालो मास्क लगाएर मौन हुँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसअघि शिक्षकहरू कहिले सडकमै सुतेर प्रदर्शन त कहिले सिठ्ठी फुकेर सडकबाट सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिक्षकहरूको माग सरकारले सुन्ने बताए पनि आइतबार उनीहरूले विश्वस्त हुन नसकेको भन्दै सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका थिए ।
आइतबार उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्मको सडकमा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन् ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घले २० गते बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेको थियो ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
फेसबुक पेज Like गर्नुहोस