काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई पक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका भारतीय स्थल सेना प्रमुख सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललेबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए ।

नेपाल र भारतबीचको सैन्य सम्बन्धमा लामो समयदेखि कायम रहेको परम्पराअनुसार दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

त्यसअघि नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल र सेठबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको थियो ।

भेटका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध, आपसी हित तथा पारस्परिक सहकार्यका विषयमा छलफल भएको थियो । त्यसैगरी प्रधानसेनापति सेठले आज प्रधानमन्त्री तथा रक्षामन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।

भारतीय स्थल सेना प्रमुख सेठ बुधबार भारत फर्किने कार्यक्रम छ । प्रधानमन्त्री शाहले जिम्मेवारी सम्हालेपछि नेपाल भ्रमणमा आउने उनी भारतका उच्च तहका अधिकारी हुन् ।