काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङले भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।

घले दम्पतीको एमआईटी ग्रुप फाउन्डेसनले बाढी प्रभावित १८ वर्षमुनिका बालबालिकाको शिक्षा तथा आधारभूत आवश्यकताका लागि उक्त रकम खर्च गर्ने घोषणा गरेको हो।

यसका लागि फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारीपत्र (एमओयू) गरेको छ। समझदारीअनुसार प्रभावित बालबालिकालाई कक्षा १२ सम्मको अध्ययनका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ।

फाउन्डेसनका अनुसार बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य उपचारलगायत आवश्यक सेवामा सहयोग गरिनेछ।

डा. घलेले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित बालबालिकाको कठिन अवस्थामा सहयोग पुर्‍याउने र आगामी दिनमा समेत दीर्घकालीन रूपमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

फाउन्डेसनले बालबालिकाको संरक्षणसँगै उनीहरूको शिक्षा र भविष्य सुनिश्चित गर्न दीर्घकालीन सहयोग गर्ने जनाएको छ।