बंगलादेशका राष्ट्रपति हमिद आज नेपाल आउँदै
काठमाडौं - बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (मंगलबार) चार दिवसीय सद्भावना भ्रमणको सिलसिलामा नेपाल आउँदै छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार, हमिदलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नेछिन् ।
हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनेछन् ।
त्यस्तै, राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपति हमिदले काठमाडौंँका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको भ्रमणका साथै पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रका अनुसार ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन् ।
राष्ट्रपति हमिदलाई अति विशिष्ट व्यक्तिहरुको सुरक्षा कार्यविधि–२०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।
सैनिक मुख्यालयका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले उक्त कार्यविधि अनुसार सुरक्षा समन्वयका लागि रथीको नेतृत्वमा चारवटै सुरक्षा निकायका अधिकारी सहभागी सुरक्षा समन्वय समितिले समन्वयात्मक रुपमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए ।
हमिदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा भेटघाटस्थलमासमेत आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस