काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसलाले संविधान र राष्ट्रको शिरलाई उचाइमा पुर्याएको बताएका छन् ।

सर्वोच्च अदालतले आज (सोमबार) प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि सो बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना हो, यसलाई नेपाल र नेपाली जनताको जित भएको छ । उनले संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको रक्षा आजको आवश्यकता भएको पनि बताए ।

अध्यक्ष दाहालले भने, ‘म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु, मेरो तर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च आज पुनःस्थापना गरेको हो ।

अध्यक्ष दाहालले पटक–पटकको संसद् विघटन र पटक–पटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको समेत बताए । नेपाली जनताको जीतको रुपमा अगाडि आएको अध्यक्ष प्रचण्डको भनाइ छ ।