काठमाडौं - नेकपा एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका पाँचवटा एजेन्डा तय गरेको छ।
सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, राजनीतिक प्रतिवेदन पेस तथा छलफल र विभिन्न कमिटीमा मनोनयनलगायतका एजेन्डा तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदनसमेत पारित गरेको छ। सोही प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
निर्वाचन समीक्षा तथा पुनर्जागरणसम्बन्धी कार्यदलले आइतबार अध्यक्ष ओलीलाई प्रतिवेदन बुझाएपछि ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।
ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा केही बेरमा सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीसहित एमालेका नेताहरू पुगिसकेका छन्।
फागुनमा भएको निर्वाचनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
यसअघि आईतबार पनि सचिवालय बैठक बसेको थियो।
बैठकमा निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनमा अध्यक्ष ओलीको राजीनामा र विशेष महाधिवेशनको विषय समावेश गर्ने कि नगर्ने भन्नेमा विवाद देखिएको थियो।

.gif)


