काठमाडौं -गृहमन्त्री सुदन गुरुङले पछिल्लो बाढीपहिरो तथा प्राकृतिक विपद्पछि उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र उच्च प्राथमिकताका साथ परिचालन गरिएको बताएका छन्।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले विपद्का कारण उत्पन्न जटिल परिस्थिति, उद्धारमा देखिएका चुनौती, अन्तर्राष्ट्रिय सहयोग तथा राहत वितरणको अवस्थाबारे जानकारी दिएका हुन्।

उनले विशेषगरी थ्री ए जलविद्युत् आयोजना र सुरुङ क्षेत्रमा उद्धार कार्य अत्यन्तै कठिन र जोखिमपूर्ण रहेको बताए। प्रतिकूल मौसम, विकट भूगोल तथा दलदलयुक्त जमिनका कारण उद्धारमा चुनौती थपिएको उनको भनाइ छ।

गुरुङका अनुसार हवाई उद्धारमा मौसम र भौगोलिक अवस्थाले समस्या सिर्जना गरे पनि रातको समयमा समेत प्राविधिक तथा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सरकारले वैकल्पिक योजनामाथि समेत काम गरिरहेको गृहमन्त्रीले बताए।

उनका अनुसार सुरुङको माथिल्लो भाग अर्थात् ‘हेड’बाट खनेर वा ड्रिल गरी भित्र रहेका व्यक्तिसम्म अक्सिजन र खाद्यान्न पुर्‍याउन सकिन्छ कि भन्ने सम्भावनाको अध्ययन भइरहेको छ।

‘त्यहाँको जमिन दलदले माटोले भरिएको छ, जसका कारण उद्धारका लागि प्रयोग गरिएका एक्साभेटरहरू समेत डुब्ने अवस्था छ,’ उनले भने।

विदेशी उद्धार टोलीलाई सरकारले प्रवेश गर्न नदिएको भन्ने चर्चाको गृहमन्त्री गुरुङले खण्डन गरे।