काठमाडाैं - देशका विभिन्न नदीहरुमा बुधबार बाढी आउने भएकाेले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । बुधबारदेखि मनुसुनी गतिविधि फेरि सक्रिय बनेकाे र अधिकांश भूभागमा अति भारी वर्षा हुने भएकाले बाढीकाे जाेखिम बढेकाे महाशाखाले जनाएकाे छ।

अहिले बिहानकाे मापन अनुसार कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तर नारायणी र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएकाे छ । दिउँसाेसम्म यी नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ।

कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्त्य रहने, तमोर, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु, तथा त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायत नारायणीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेकाे छ।

यस्तै पश्चिम राप्ती र बबई नदीकाे बहाव सामान्य रहने, पूर्वी राप्ती, कमला, बागमती र कन्काई जलाधारका केही सहायक नदीमा मध्यमदेखि भारी वर्षा भएर बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्ने अनुमान गरिएकाे छ।