गण्डकी - प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिबाट राजीनामा दिएका छन्।

समितिका सदस्य गुरुङले चारैतिर लुट मात्र भइरहेको भन्दै समितिले अनुगमनको नाममा भत्ता मात्र खाने काम भएकाले सदस्यबाट राजीनामा दिएको बताएका छन् । समितिले अनुगमन गरेर निर्देशन गर्ने मात्र अधिकार छ, कारवाही गर्न सक्दैन । कामै नभएको समितिमा बसिरहन औचित्य नदेखेकाले राजीनामा दिएको गुरुङको भनाइ छ ।

‘ठेक्कापट्टा गर्ने र ईन्जिनियर सबै नजिकका मान्छे छन् । अनुगमन गर्ने भनेको त्यस्तै हो । समितिमा हुँदा म पनि अनुगमनमा गएँ । तर भत्ता मात्र लिने काम जस्तो देखियो ।’ उनले भने ।

गिट्टीबालुवाको टेन्डरदेखि जता पनि ठूलो भ्रष्टाचार रहेको उनले दाबी गरे । कर्मचारी, नेतादेखि सबै मिलेर दोहन गरिरहेको गुरुङको आरोप छ । पृथ्वी राजमार्ग नजिकै कोत्रेमा नदी दोहन चरम भइरहेको छ, मुख्यमन्त्री, मन्त्री सबै यही बाटो ओहोरदोहोर गर्छन् कसैले वास्ता नगरेको भन्दै गुरुङले आक्रोस पोखे।

नामको मात्र समिति भएको र कुनै पनि अधिकार प्राप्त नभएकाले औचित्यविहीन समितिमा बस्न आफैंलाई लाज लागेर राजीनामा दिएको उनले बताए ।