काठमाडौं - अविरल वर्षासँगै बागलुङको तमानखोला गाउँमा खसेको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

तमानखोला गाउँपालिका-४,लाम्लेलामा आइतबार राति राति १:३० बजे गाउँको १ सय ५० मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै हजुरआमा र नातिको मृत्यु भएको हो ।

७० वर्षीया अनसरी श्रीपाली र उनका १२ वर्षीय नाति प्रविण श्रीपालीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। पहिरोले पुरिँदा अर्को घरकी ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको पनि मृत्यु भएको बागलुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले त्यहाँ ४ वटा घर पूर्णरुपमा भत्किएका छन् भने ३ घरमा आंशिक क्षति पुगेको छ। घटनास्थलमा अहिले प्रहरी पुगेको छ।

प्रहरीसहित पुगेको मेडिकल टोलीले घाइतेको उपचार गरिरहेको डिएसपी भट्टराईले जानकारी दिए।उनका अनुसार बोङ्गादोभानबाट करिब ४ घण्टाको हिँडाइपछि प्रहरी टोली घटनास्थल पुगेको हो।अहिले बुर्तिबाङबाट अर्को १० जनाको प्रहरी टोली पनि घटनास्थलतर्फ लागेको उनले जानकारी दिए।