काठमाडौं - लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवरसम्म जोड्ने सडक बनाएपछि सरकारले सशस्त्र प्रहरी तैनाथ गर्ने भएको छ ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य रहेको स्विकारोक्ति गर्दै अब दार्चुलाको छाङ्गरुमा सशस्त्र प्रहरीको बटालियन राख्ने बताएका हुन् ।

कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने निर्देशन दिइएको बताए ।

त्यसैक्रममा अब हेलिकप्टरमार्फत दार्चुलाको छाङरुमा सुरक्षाफौज लैजाने तयारी भइरहेको मन्त्री ज्ञवालीले बताए । ‘अल्टिच्युडका कारण स्थायी प्रवन्ध गर्न समय लाग्ने भएकोले केही समय पर्खिएका थियौं । अब आज भोलिमै स्थायी बीओपी छाङरुमा राख्छौं’ उनले भने ।

त्यसलगत्तै सशस्त्र प्रहरी बलको बटालियन नै राख्ने बताए । दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरु (कालापानीबाट १० किलोमिटर वर) प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमाण्डमा ३५ जनाको टोली राख्ने सशस्त्र प्रहरी बलको तयारी छ ।