काटिएको उद्योगका विद्युत लाइन आज १२ बजेभित्र जोडिँदै
काठमाडौं - सरकारले उद्योगमा काटिएको बिजुली आज दिउँसो १२ बजेसम्म जोड्न निर्देशन दिएको छ ।
आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगमा बिजुलीको लाइन काटिँदा उत्पादन ठप्प भएर माग र आपूर्तिको शृङ्खला नै बन्द हुने र बेरोजगारी बढ्ने भन्दै तत्कालै लाइन जोड्ने निर्णय गरेको हो ।
यसअघि विद्युत नियमन आयोगले कात्तिकको १४ गते विद्युत प्राधिकरणलाई पत्र पठाएर पहिलो किस्ताको बक्यौता नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको थियो । प्राधिकरणले पनि ५६ किस्तामा रकम बुझाउन सक्नेगरी लचक व्यवस्था ल्याएको थियो ।
केही उद्योगले किस्ताबन्दीमा रकम बुझाउन शुरु गरेका छन् । तर, सरकारले भने बक्यौताको टुङ्गो नभइकनै आज १२ बजेभित्र लाइन जोड्नुपर्ने निर्णय गरेपछि ट्रंक र डेडिकेटेड फिडरको प्रयोगवापत उठाउनुपर्ने साढे ६ अर्ब रुपैयाँ फेरि अन्योलमा परेको छ ।
लाइन जोड्ने मन्त्रिपरिपरिषद्को निर्णय अब उर्जा मन्त्रालय जानेछ, उर्जाले प्राधिकरणलाई पत्र पठाउनेछ । त्यसपछि प्राधिकरणको सञ्चालक समितिको बैठकले बल्ल लाइन जोड्ने निर्णय गर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस