काठमाडौं - सरकारले दुई सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेल र राष्ट्रिय सतर्कता केन्द्रका सचिव विश्वबाबु पुडासैनीको सरुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कोशी प्रदेशका प्रमुख सचिव पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। सञ्चार मन्त्रालयका सचिव डा. कमल पोखरेलले केही दिनअघि पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

त्यस्तै, राष्ट्रिय सतर्कता केन्द्रका सचिव विश्वबाबु पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि सरकारले विभिन्न मन्त्रालय तथा निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) गरेको थियो।

सोही क्रममा राष्ट्रिय सतर्कता केन्द्रमा रहेको सचिवको दरबन्दीमा समेत पुनर्संरचना गरिएको थियो ।

ओ एण्ड एमपछि राष्ट्रिय सतर्कता केन्द्रमा यसअघि रहेको प्राविधिकतर्फको सचिवको दरबन्दीलाई प्रशासनतर्फ कायम गरिएको छ ।

यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेको प्रशासनतर्फको सचिवको दरबन्दीलाई प्राविधिकतर्फ परिवर्तन गरिएको छ ।