११ कम्पनीको सेयर कारोबार रोक्का
काठमाडौ - नेपाल स्टक एक्सचेन्जले सूचीकृत ११ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सोमबार ११ पनीको शेयर कारोबार रोक्का गरेको विज्ञप्तिमा मार्फत जानकारी गराएको हो ।
धितोपत्र बजारको नियमनकारी निकाय धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेलाई समयमै प्रतिवेदन नबुझाउने तथा वार्षिक साधारणसभा नगर्ने कम्पनीको विस्तृत विवरण छानबिन गरी कारोबार रोक्का राख्न निर्देशन दिएपछि नेप्सेले छानबिन सुरु गरेको थियो ।
छानबिनपछि नेप्सेले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ तथा सूचीकरण विनियमावलीअनुसार पेस गर्नुपर्ने विवरणहरू पेस नगरेकाले दोस्रो बजारमा शेयर कारोबार रोक्का गरेको जनाएको हो । कारोबार रोक्कामा पर्नेमा जलविद्युत क्षेत्रका कम्पनी धेरै छन् । नेपाल हाइड्रो, पन्चकन्या माई हाइड्रो, पाँचथर पावर कम्पनी, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रो र युनियन हाइड्रोको शेयर कारोबार रोक्का भएको छ ।
जीवन बीमातर्फको गुराँस लाइफ इन्स्योरेन्स, विकास बैंकतर्फ कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का राखिएको छ । लघुवित्ततर्फ कालिका लघुवित्त, र नेसनल माइक्रोफाइनान्सको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । त्यसैगरी साताको दोश्रो दिन नेप्से परिसुचक ३७.४८ अंकले वृद्धि भई २ हजार ५ सय ६१.४७ अंकमा पुगेको छ ।
ग्रामिण विकास लघुवित्त र प्रभु बैंकको सेयर मुल्यमा ९ प्रतिशतले वृद्धि भयो । प्रभु बैंकको प्रोमोटर सेयर, सनराइज बैंक र माछापुच्छ्रे बैंकमा ८ प्रतिशतको वृद्धि भएको हो । ७ प्रतिशतले मुल्यवृद्धि हुने कम्पनीमा छ्याङ्दी हाइड्रोपावर र गरिमा विकास बैंक छन् । आइतबार नेप्से ४८ अंकले बढेपनि बैंकिङ समूह र विकास बैंक समूहका परिसुचक घटेको थियो । तर, साताको दोस्रो दिन सोमबार बैंकिङ र विकास बैंक समूहमा उच्च दरमा परिसुचक बढेको हो ।
फेसबुक पेज Like गर्नुहोस