काठमाडौं-प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान छलफल गरेका छन् ।

बालुवाटारमा करिब एक घन्टा दुई नेताबीच भएको छलफलमा सत्तागठबन्धनभित्र साझेदारीअनुरुप कार्यशैली नभइरहेको भनी आएका टिप्पणी, गठबन्धनको आयुकोबारेमा छलफल गरेका हुन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले कांग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गरेका हुन् ।

संयन्त्रको बैठक केही दिनभित्रैमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन् । हाल कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन् ।

नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएसँगै एमाले र कांग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ ।