काठमाडौं - रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् ।

बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि देखिन्छन् ।

यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका वडा सबै डुबानमा परेका छन् । पीडितमध्ये केहीले विद्यालयमा आश्रय लिएका छन् भने केहीले मन्दिर र आफन्तकहाँ बास मागेका छन् । पीडितहरू विद्यालयका डेस्कबेञ्च जोडेर सुत्छन् । यसबाट विशेषगरी वृद्धवृद्धालाई समस्या भएको छ ।

बालबालिकालाई पनि उत्तिकै पीडा छ । त्यसमा पनि गाईबस्तुले गरेको फोहोरले बाढीपीडितमा महामारी लाग्ने हो कि भन्ने त्रास बढ्दो छ । विस्थापितको बासस्थान र पशु बाँध्ने ठाउँ एउटै भएकाले महामारीको डर बढेको हो । विस्थापितले एक सयभन्दा बढी गाईभैंसी, बाख्रा विद्यालयमा बाँधेका छन् । त्यहीँ नजिकै विस्थापितले चुलो बनाएका छन् । तर खाद्यान्न अभावमा धेरैको चुलोमा आगो बलेको छैन ।

कान्तिपुर दैनिकबाट