कैलाली - पूर्वी नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपनि सुदूरपश्चिम प्रदेशमा भने एक साता यता संंक्रमितको संख्या स्थिर रहको छ ।

सुदूरपश्चिमबाट संकलन गरिएका ८ हजार एक सय ५७ जनाको थ्रोट स्वाव मध्ये आइतबार सम्म पीसीआर र र्‍यापिड टेस्ट विधीमार्फत ८ हजार ८५ जनाको परीक्षण गरिएको छ । ७२ जनाको रिपोर्ट भने आउन बाँकी छ ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार आइतबारसम्म पीसीआर प्रविधिबाट २ हजार ५ सय ६ जनाको कोरोना परीक्षण गरिएकोमा ५ जना बाहेक अरु दुई हजार ५ सय एक जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै आइतबारसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ९२ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

अहिले प्रदेशका विभिन्न अस्पतालमा ११ जनालाई आईसोलेसमा राखिएको छ । जसमा चार जना कोरोना संक्रमित छन भने बाँकी ७ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ ।

यस्तै प्रदेशमा सबै जिल्लामा स्थापना गरिएका विभिन्न क्वारेन्टाईनमा एक हजार तीन सय ४६ जनालाई राखिएको छ।