काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिँदैछ । 

संवैधानिक इजलासमा अब निवेदक तर्फका कानुन व्यवसायीले बहसका लागि २ घन्टा ३५ मिनेट समय पाउनेछन् । याेसँगै गत वुधवारबाट सुरु भएको बहसमा १२ घन्टाकाे समयअवधि सकिनेछ। उनीहरुले प्रत्युत्तर बहसका लागि थप ३ घण्टा समय पनि पाउनेछन् । 

निवेदक पक्षले वहस सकेपछि वाँकी समय सरकारी पक्षवाट बहस सुरु हुनेछ। सरकारका तर्फवाट महान्यायाधिवक्ता रमेश वडालले बहस गर्ने तयारी गरेका छन्। सरकार पक्षका कानुन व्यवसायीले पनि बहसका लागि संवैधानिक इजलासमा १५ घण्टा समय पाउनेछन् । 

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा ३० वटा रिट परेको छ । निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् ।प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका छन् ।