विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना  गरेका छन् । 

उनले आज जारी गरेका शुभकामना सन्देशमा किरात समुदायको महान् पर्व उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् । 

यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको उनले बताए । 

मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ, “धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।” 

सन्देशमा उनले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न आग्रह गरे ।