एमाले स्थायी कमिटी बैठक आज पनि, एकता जोगाउन लचिलो निर्णय गर्न सक्ने
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको हो ।
मंगलबार पनि कमिटीको बैठक बसेको थियो । उक्त बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निष्कर्ष निकालेको थियो । प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार एकता सकेसम्म जोगाउन सकियोस् भनेर छलफल गरिरहेको र धेरैभन्दा धेरै साथी पार्टीमा रहनुहोस् भन्ने प्रयास जारी नै रहेको छ ।
योसँगै प्रतिनिधिसभा पुनःस्थापना र संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदमाथिको कारवाही समेत रोकिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अडानबीच पार्टी विवाद बढ्दै गएपछि एकले अर्कोको निर्णय अस्वीकार गर्दै अगाडि बढिरहेका छन् । विवाद समाधानका लागि यसअघि ओली र नेपालले १० सदस्यीय कार्यदल गठन गरेका थिए । तर, पुनः विवाद बढेपछि सो कार्यदल निष्क्रिय अवस्थामा छ । यसैबिच एकता जोगाउन दोस्रो तहका नेताले भने सक्रियता बढाएका छन् । ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट घनश्याम भुषाल, सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेता एकता जोगाउने विषयमा छलफल गरिरहेका छन् ।
आजको बैठकमा पनि पार्टी एकता जोगाउन र एकताबद्ध राख्न हदैसम्म लचिलो भई प्रयासहरु जारी राख्ने विषयमा छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस