काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद किनबेच तथा अपहरण जस्ता हर्कतले संविधानको हार हुने बताएका छन् । 

बुधबार गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएको कुरा बाहिर आएसँगै भट्टराईले सांसद किनबेच तथा अपहरण जस्ता हर्कतले कसैले सत्ता जोगाए पनि संविधानको हार हुने बताएका हुन् । भोलि धेरै ढिलो हुने भन्दै उनले समयमै सचेत भएर राष्ट्रिय एकता कायम गर्न आह्वानसमेत गरेका छन् । 

‘सांसद किनबेच/अपहरण/निष्कासन/अस्पतालभर्ना र संसद बिघटन/स्थगन/अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला/पाउला तर अन्तत:लोकतन्त्र/समाजवाद/संघीयता/संविधानले हार्नेछ।अनि देश/राष्ट्रियता/स्वाधीनता/सार्वभौमसत्ताले हार्नेछ।’ उनले भनेका छन्, ‘वेलैमा चेतौं;राष्ट्रिय सहमति/एकता कायम गरौं।भोलि धेरै ढिलो हुनेछ !’

प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । तर, एकाएक जनमोर्चाका प्रदेशसभा सदस्य शाही सम्पर्कविहिन भएको भन्ने कुरा बाहिर आयो । त्यसपछि जनमोर्चाकै सांसद पियारी थापाले शाहीको अवस्था सार्वजनिक नहुँदासम्म सदन स्थगित गर्न पत्र दिएकी थिइन । सोही पत्रानुसार सभामुख नेत्रनाथ अधिकारीले शाहीको अवस्था सार्वजनिक नहुँदासम्म सदन स्थगित गरिदिए । अन्त्यमा शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिए । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो ।