काठमाडौं - पार्टीमा चर्किँदै गएको आन्तरिक विवाद समाधान गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु छलफलमा जुटेका छन् । पार्टी एकताका लागि गठित कार्यदलले गत असार २७ गते गरेको १० बुँदे सहमतिका कार्यान्वयनबारे हाल दुई पक्षका नेताहरुबीच सिंहदरवारमा छलफल जारी छ । 

आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष ओली नेपाल पक्षसँग क्रुद्द छन् । नेता नेपाल पनि ओलीले आफ्नै ढंगले विभिन्न निर्णय गर्दै एकतर्फी रुपमा अघि बढेर  ‘अति गरेको’ भन्दै आफ्नै अडानमा छन् । तर, कार्यदलमा सम्मिलित दोस्रो तहका नेताहरूसहमति जुटाएर पार्टी एक ढिक्का बनाउन चाहन्छन्। त्यसको पहलसमेत गरिरहेका छन्।

पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरू स्थायी कमिटी बैठक रोक्न माग गर्दै शुक्रबार बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठान पुगेका थिए। तर, अध्यक्ष ओलीले बैठक नरोकेर पार्टी प्रतिपक्षमा बस्ने लगायतका निर्णय गराएका थिए। उक्त बैठकले नेपाल पक्षको उपस्थिति बिनै देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । बसेको बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन भएको घोषणा गरेको थियो।

कार्यदल औपचारिक रुपमा भंग भए पनि पार्टी एकता जोगाउन नेताहरु अनौपचारिक छलफललाई निरन्तरता दिने प्रयासमा छन् ।